Headlines News :
Home » » गोललाइन प्रविधिलाई बोलपत्र

गोललाइन प्रविधिलाई बोलपत्र

On Thursday, February 21, 2013 | 4:38 AM


फागुन १० (एजेन्सी)- अर्को वर्ष हुने विश्वकप फुटबलमा गोललाइन प्रविधि (जिएलटी) प्रयोगका लागि विश्व फुटबल महासंघ (फिफा) प्रतिबद्ध रहे पनि जिएलटीका चारमध्ये कुन प्रविधि अपनाउने भन्ने टुंगो लागिसकेको छैन। यसै वर्षको जुनमा हुने कन्फेडेरेसन कप र अर्को वर्ष हुने विश्वकपमा गोललाइन प्रविधि प्रयोग गर्न फिफाले बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ।  

'मार्चको मध्यतिर कन्फेडेरेसन कपको आयोजनास्थल निरीक्षणक्रम इच्छुक जिएलटी कम्पनीलाई बोलाइनेछ। त्यसको अन्तिम निर्णय भने अप्रिलको सुरुआतमा लिइनेछ,' फिफाले विज्ञप्तिमार्फत भनेको छ। 
दक्षिण अफ्रिकामा सन् २०१० को विश्वकपमा जर्मनीविरुद्ध इङ्ल्यान्डका मिडफिल्डर फ्रान्क लाम्पार्डको गोल रेफ्रीले अस्वीकार गरेपछि जिएलटी प्रयोगका लागि व्यापक चर्चा सुरु भयो। त्यसपछि फिफा अध्यक्ष सेप ब्लाटरले रेफ्रीको कामलाई थप सहज बनाउन उच्च प्रविधिको प्रयोग गरिने बताएका थिए। 

आइएफएबीका नामले परिचित फुटबलको नियम बनाउने समितिले दुई जिएलटी पद्धतिबारे लामो परीक्षण र छलफल गरी प्रतिस्पर्धात्मक खेलमा जिएलटी प्रयोगलाई गत जुलाईमा मान्यता दिएपछि फिफाको मंगलबारको कदम अपेक्षित थियो। गत डिसेम्बरमा जापानमा सम्पन्न क्लब विश्वकपमा क्यामरामा आधारित ह्वक आई र चुम्बकीय सेन्सरमा आधारित गोलरेफ पद्धति प्रयोग गरिएका थिए।

क्लब विश्वकपमा प्रयोग भसकेका यी दुईसहित अन्य दुई प्रविधिबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। जर्मनमा तयार भएका पछिल्ला दुइटा पद्धति परीक्षणमा रहेका र प्रयोगका लागि केही समयमा पास हुने अपेक्षा गरिएको फिफाले जनाएको छ। यद्यपि यी पछिल्ला जिएलटी प्रविधि निर्माण कम्पनीबारे अहिले केही बताइएको छ। 
'जुरिचमा रहेको एउटा प्राविधिक इन्स्टिच्युटले ती दुईमध्ये एक पद्धति जाँच गरिसकेको र अर्को यसै महिनाको अन्त्यसम्म जाँच गरिनेछ,' फिफाले विज्ञप्तिमा उल्लेख गरेको छ। 

ह्वक आई प्रविधि टेनिस र क्रिकेटसमेत प्रयोग गरिन्छ। विश्वकपको प्रायोजकसमेत रहेको सोनी कम्पनीले फिफा परीक्षणक्रम एक अंग्रेज कम्पनीबाट ह्वक आईलाई खरिद गरेको थियो। गोलपोस्टमा राखिने गोलरेफमा प्रविधि भने डेनिस कम्पनीले तयार पारेको हो। यी दुवै पद्धतिले गोल भए-नभएको जानकारी एक सेकेन्डभित्र रेफ्रीको नाडी घडीमा दिन्छ। क्लब विश्वकप फुटबलमा यी दुई प्रविधिलाई फरक फरक मैदानमा प्रयोग गरिए पनि त्यतिबेला कुनै पनि निर्णयका लागि यी प्रविधिको सहारा लिनुपरेको थिएन।

रेफीको निर्णयलाई मानवीय त्रुटिसँगै जोड्दै २०१० को विश्वकप अघिसम्म फिफा अध्यक्ष ब्लाटर जिएलटीको विपक्षमा उभिएका थिए। लाम्पार्डको गोलको विषयमा चर्चा सुरु भएपछि उनले समेत आफ्नो भनाइमा पुनर्विचार गरेका थिए। लाम्पार्डको बल क्रसबारमा लागेर गोलपोस्टको लाइनभन्दा भित्र छिरे पनि रेफ्रीले गोल दिएनन्। यदि त्यो गोल दिइन्थ्यो भने खेल मध्यान्तरअघि २-२ को अवस्थामा हुन्थ्यो। तर पछि इङ्ल्यान्डले त्यो खेल ४-१ ले गुमायो। उक्त खेलको दुई दिनपछि ब्लाटरले फिफाले गोललाइन प्रविधिका विषयमा पुनः छलफल सुरु गर्ने बताएका थिए।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat